मलेसियाबाट यस वर्ष एक लाखभन्दा बढी नेपाली कामदारको माग आएकामा कृषि कामदारको
सबभन्दा बढी सम्भावना रहेको वैदेशिक रोजगार व्यवसायीले बताएका छन्
व्यावसायिक कृषिमा अग्रणी रहेको मलेसियाले जापानी प्रविधि अँगालेपछि यो क्षेत्रमा
काम गर्नेहरूको माग बढेको हो। 'मलेसियामा कृषि कामदारको ठूलो सम्भावना छ,' वैदेशिक
रोजगार व्यवसायी संघका सचिव कुमुद खनालले नागरिकसँग भने, 'यो क्षेत्रमा कामदार
पठाउन पहल गर्नुपर्छ।'
उनका अनुसार मलेसियामा हाल साढे चार लाख नेपालीले काम गरिरहेका छन्। कृषि
क्षेत्रमा काम गर्नेको संख्या भने कम छ। औद्योगिक, सेवा, सेक्युरिटी गार्ड र
निर्माण क्षेत्रका बढी छन्। कृषि क्षेत्रमा बढीभन्दा बढी नेपाली पठाउनसके
उनीहरूमार्फत् प्रविधि हस्तान्तरणमा पनि सहयोग पुग्ने उनले बताए।
'हाम्रो कृषि क्षेत्र अझै परम्परागत छ,' खनालले भने, 'बढीभन्दा बढी नेपालले कृषि
क्षेत्रमा काम गर्न पाए उनीहरूले त्यहाँ सिकेको प्रविधि यहाँ काम लाग्छ। यो देशको
लागि पनि राम्रो कुरा हो।' अहिले औद्योगिक क्षेत्रमा काम गर्ने नेपालीले त्यहाँ
सिकेको प्रविधि यहाँ प्रयोग गर्न ठाउँ नपाएको उनले उल्लेख गरे।
कृषि क्षेत्रमा जाने श्रमिकले सात घन्टामात्र काम गरे पुग्छ। मलेसियामा अन्य
क्षेत्रका कामदारले १२ घन्टा काम गर्नुपर्छ। त्यसबापत् साढे सात सय रिंगेट (करिब १५
हजार रुपैयाँ) पाउँछन्।
तर, मलेसियामा कृषि कामदार पठाउन सजिलो छैन। एक सयभन्दा बढी कामदार पठाउँदा
दूतावासमा गएर प्रमाणित गराउनुपर्छ। 'धेरै व्यवसायी यस्तो झन्झटमा पर्न चाहँदैनन्,'
उनले भने।
विगतमा कृषि भन्दै पाम फार्ममा काम गर्न केही नेपाली गएका थिए। पाम फार्ममा काम
गर्दा लामो समय जंगलमा बस्नुपर्ने भएकाले त्यसपछि कसैले रुचि देखाएनन्। यही
समस्याका कारण कृषि क्षेत्रमा गएका धेरै नेपाली भागेर सेक्युरिटी गार्डको काममा
लागेका थिए। 'कृषि भनेर पाम फार्ममा काम गर्न कोही पनि मानेनन्,' खनालले भने,
'अहिले भने त्यस्तो स्थिति छैन। उनीहरूलाई बढीभन्दा बढी कृषि कामदार चाहिएको छ।
हामी नेपाली धेरैजना खेतीपातीमा अभ्यस्त छौं। त्यही भएर यो अवसरको सदुपयोग
गर्नुपर्छ।'
जापानमा पनि माग
सरकारले १ सय ७१ म्यानपावर एजेन्स िर नेपाल
उद्योग वाणिज्य महासंघलाई प्रशिक्षार्थी कामदार जापान पठाउन खुला गरेको छ। जापानमा
कृषि क्षेत्रका कामदारको माग सबभन्दा बढी छ।
मलेसियाले पनि जापानी प्रविधिमा आधारित कृषि प्रणाली नै अपनाएको हो। 'अहिले
मलेसियमा नेपाली पठाएर दुई वर्षपछि त्यही कामदार जापान पठाउन सकिन्छ,' खनालले भने,
'यसका लागि अहिलेदेखि नै पहल गर्न आवश्यक छ।'
जापानका स्थानीयले कृषि क्षेत्रमा
काम गर्दैनन्। उनीहरूमा भू-स्वामित्वको मोह भने धेरै छ। त्यसैले धेरै कृषियोग्य
जमिनमा जनशक्ति अभाव रहेकाले त्यहाँ नेपाली कामदार पठाउन सकिने व्यवसायीहरू
बताउँछन्