एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले बहुमतीय सरकारले शान्ति र संबिधानको एजेण्डा पूरा गर्न नसक्ने भन्दै अहिले पनि राष्ट्रिय संयुक्त सरकारको विकल्प नभएको बताउनुभएको छ । आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग्नुभएका नेपालका लागि बेलायती राजदूत एन्ड्रीउ हलसँग कुराकानी गर्दै डा. भट्टराईले साउन १७ गतेको प्रधानमन्त्री निर्वाचन अगावै पनि राष्ट्रिय सरकारका लागि पहल गरिने बताउनुभयो ।
एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस, नेकपा एमाले र मधेसवादी दलसहित मुख्य राजनीतिक शक्ति सम्मिलित राष्ट्रिय संयुक्त सरकारले मात्र संविधान निर्माण र शान्ति प्रकृयालाई पूर्णता दिनसक्ने भट्टराईको भनाई थियो ।बिदाई भेटका लागि आउनुभएका राजदूत हलले दुई-दुई पटक प्रधानमन्त्री चुन्न नसक्दा अबको राजनीतिक भबिष्य के होला भनेर जिज्ञासा राख्नुभयो । ‘सकेसम्म १७ गतेभित्रै सैद्धान्तिक सहमति गरेर जाने प्रयास गर्नुपर्छ नभए १७ गतेपछि अर्को प्रकृयाबाट पनि राष्ट्रिय संयुक्त सरकारका लागि सहमति जुटाउन सकिन्छ,’ डा. भट्टराईले भन्नुभयो ।
भेटमा माओवादीले जनयुद्ध थाल्नुपर्नाको कारण, माओवादीका एजेण्डा लगायतका बिषयमा पनि राजदूत हलले चासो राख्नुभएको थियो । संविधानसभा, गणतन्त्र, क्रान्तिकारी भुमिसुधार लगायतका आफ्ना एजेण्डामाथि सुनुवाई नभएपछि माओवादीले जनयुद्ध थाल्नुपरेको भन्दै भट्टराईले शान्तिपूर्ण बिधिबाट यी एजेण्डा पूरा गर्न माओवादी अहिले पनि संर्घषरत रहेको जानकारी गराउनुभएको थियो ।