एकीकृत नेकपा माओवादीले सरकार गठनका बिषयमा मधेसी मोर्चाले राखेको प्रतिबद्धता पत्रको लिखित जवाफ विहीबार दिने भएको छ । प्रतिबद्धता पत्रमा मोर्चाले राखेका अबधारणामध्ये केहीमा असहमति र केही मुद्दामा विकल्प दिइने स्रोतले बताएको छ ।उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विगतमा आफ्नो पार्टीले तयार पारेको सहमतिको आधारपत्र र मधेसी मोर्चासाग भएका छलफलका आधारमा प्रतिबद्धता पत्रको जवाफ तयार हुने जानकारी दिनुभयो ।
अध्यक्ष प्रचण्डसहित केहि शीर्ष नेताहरु बसेर हिाजो तयार गरिएको लिखित प्रतिबद्धता पत्रको जवाफलाई अन्तिम रुप दिन पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा पदाधिकारी बैठक जारी छ । पदाधिकारी बैठकले मोर्चाका माग सम्बोधन गर्न सक्ने एजेण्डा समेटेर लिखित जवाफ तयार गर्ने प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो ।
दुई पटकसम्म भएको प्रधानमन्त्रीको निर्बाचनमा तटस्थ बसेको मोर्चाले जसले आफ्नो आधार पत्रमा लिखित प्रतिबद्धता जनाउँछ उसैलाई सहयोग गर्ने बताएको छ । मोर्चाका मागमध्ये मधेस स्वायत्त प्रदेश, समायोजन हुने जनसेनाको संख्या तथा समायोजन अबधि र संविधानमा बहुलवाद बाहेकका बिषयमा माओवादी सहमत छ ।मधेसी मोर्चाले प्रधानमन्त्रीका प्रत्यासी दल काङ्ग्रेस र माओवादी दुवैलाई जसले लिखित प्रतिबद्धता जनाउँछ उसैलाई समर्थन गर्ने निर्णय गरेका कारण यहि १७ गते हुने तेस्रो चरणको प्रधानमन्त्री चयनको निर्बाचनमा बहुमत जुटाउन दुवै दल प्रयासरत छन् ।मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), मधेसी जनअधिकार फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी र नेपाल सदभावना पार्टी सहभागी मोर्चासँग संसदमा ८२ सिट रहेको छ । मोर्चाको समर्थन पाए माओवादीको पक्षमा बहुमत जुट्छ तर काङ्ग्रेसका उम्मेद्वारलाई भने एमालेको पनि समर्थन आवश्यक पर्दछ ।