काठमाडौ । अबको एक वर्ष्भित्र सरकारी स्वामित्वको नेपाल टेलिकमले देशभर फोरजी सेवा विस्तार गरिसक्ने योजना बनाएको छ । पहिलोपटक नेपालमा फोरजी सेवा संचालनको अनुमति पाएको दुई वर्षपछि बल्ल देशभर फोरजी सेवा विस्तारका लागि टेन्डर प्रक्रिया अघि बढाइएको हो ।
सूचना प्रविधि तथा संचार मन्त्रीले फोरजी सेवाका लागि ठेक्का सम्झौताको अन्तिम चरणमा रहेको र सम्झौता भएको मितिले देशभर सेवा विस्तार गरिसक्ने जानकारी दिए । फोरजी सेवा विस्तारका लागि २०७४ को कात्तिकमा टेलिकमले टेन्डर आव्हान गरेको थियो। त्यसपछि पुसमा टेन्डर खोलिएपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौ महिनासम्म फाइल नियन्त्रणमा लिएर काम अघि नबढाउन निर्देशन दिएको थियो।
हाल गएको मंसिरमा अख्तियारले संचार मन्त्रालयलाई पत्र लेख्दै प्रक्रिया अघि बढाउन निर्देशन दिएको र सोहीअनुसार ठेक्का सम्झौताको काम अघि बढाइएको सूचना प्रविधि तथा संचार मन्त्रीले जानकारी दिए । संसदको अर्थ समितिमा बोल्दै सूचना प्रविधि तथा संचार मन्त्रीले आधुनिक प्रविधिसहितको पूर्वाधार निर्माण गरेर त्यसमै फाइभ जी अपग्रेड मिल्नेगरी काम गरिने बताए ।
नेपाल टेलिकमले टेन्डरमा भाग लिएका र सबैभन्दा कम कबोल गर्ने कम्पनीहरुसँग छलफल गरिसकेको छ । छलफलबाट १२ महिनामा काम गरिसक्ने र सम्झौता पनि त्यहीअनुसार हुने टेलिकमका प्रबन्ध निर्देशकले बताए । ‘हामीले गर्नुपर्ने सहजीकरण पनि गर्ने छौं, उनीहरुले गर्ने पनि गर्ने छन् तर काम भनेकै समयमा हुनेछ नत्र जरिबाना हुन्छ’ टेलिकमका प्रबन्ध निर्देशकले समितिमा बोल्दै भने ।
टेलिकमका प्रबन्ध निर्देशकले सम्झौतापछि काम गर्ने कम्पनीले अबको ६ महिनाभित्र देशका २५ वटा सहरमा फोरजी सेवा संचालनको काम गरिसक्नुपर्ने व्यवस्था गरिएको जानकारी दिए । उनका अनुसार बाँकी ६ महिनामा देशभर फोरजी सेवा र पाँचवटा सहरमा फाइभजीको परीक्षण सेवा पनि उपलब्ध हुने छ ।