काठमाडौ । नेपाल सरकारले भारतसँग देखिएको व्यापारसम्बन्धि चुनौति समाधान गर्न द्विपक्षीय छलफल गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नेपाल–भारतबीच देखिएको व्यापारसम्बन्धि चुनौति समाधान गर्न सरकारले रणनीति तय गरी भारतसँग आवश्यक छलफल गर्ने तयारी गरिरहेको जानकारी दिनु भएको हो ।
काठमाडौंमा मंगलबार आयोजित ‘नेपाल–भारत व्यापार सन्धिः चुनौति र अवसरहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दुई मुलुकबीचको व्यापारलाई सहज बनाउन भन्सार नाकाहरुमा सबै खालको सुविधा उपलब्ध गराउने प्रयास भईरहेको स्पष्ट गर्नु भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अधिकारीले दुई मुलुकबीचको व्यापारमा देखिएको समस्या समाधानका लागि आवश्यक सुझाव दिन विज्ञहरुलाई पनि आग्रह गर्नु भएको हो । नेपाल सरकारले भारतसँगको व्यापार घाटा कम गर्न आवश्यक रणनीति बनाउने तयारी गरिरहेको सचिव अधिकारीको भनाई छ ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भन्सार नाकाहरुमा सबै खालको सुविधाको व्यवस्था नगरेसम्म नेपालको व्यापार घाटा कम हुन नसक्ने स्पष्ट पारे । उनले भारतसँगको व्यापार घाटा कम गर्न भन्सार नाकाहरुलाई सुविधा सम्पन्न बनाउन पनि नेपाल सरकारसँग माग गरे ।
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले कार्यक्रममा बोल्दै नेपाली बस्तुको भारत निर्यात गर्न सहज वातावरण बनाई दिन नेपाल सरकारसँग आग्रह गरेका हुन । उनले भारतीय बस्तु नेपालमा सहज ढंगले आउने तर नेपाली बस्तु भारतमा जान नसक्ने अवस्थाको अन्त्य नभएसम्म भारतसँगको व्यापार घाटा कम गर्न नसकिने पनि स्पष्ट पारे ।