काठमाडौं । एक करोड ५० लाख मूल्यको एक लाख ६० हजार ‘स्टिम’ गुलाफ प्रेम दिवसका लागि आयात गरिने भएको छ । माग बढेकाले गत वर्षको तुलनामा यस वर्ष गुलाफको मूल्य बढ्ने बताइएको छ ।
पछिल्लो वर्ष एक करोड २५ लाख मूल्यको गुलाफ आयात भएको थियो । बजारमा माग बढेकाले भारतबाट यस वर्ष पछिल्लो वर्षभन्दा धेरै परिमाणमा फूल आयात गर्न लागिएको फ्लोरिकल्चर एशोसिएसन नेपालले जानकारी दिएको छ। यस दिवसमा खपत हुने दुई लाख स्टिममध्ये एक लाख ६० हजार बाहिरी देशबाट ल्याइने र ४० हजार स्टिम नेपालको उत्पादन रहेको छ।
एशोसिएसनका अध्यक्षका अनुसार गुलाफको अन्तर्रा्ष्ट्रिय रूपमा नै मूल्य बढेकाले पछिल्लो वर्षको तुलनामा यस वर्ष गुलाफको मूल्य वृद्धि हुनेछ । नेपालमा वार्षिक रु २० करोडको गुलाफ फूलको कारोबार हुने गरेको छ । आन्तरिक उत्पादन २० प्रतिशत र बाह्य देशबाट आयात गरिने ८० प्रतिशत रहेको अध्यक्षले जानकारी दिए। आयात गरिएका गुलाफमध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा ६० प्रतिशत खपत हुने एशोसिएसनले जनाएको छ ।
गुलाफको व्यावसायिक खेती गरिने जिल्लामा काठमाडौं उपत्यकाका तीन र काभ्रेपलाञ्चोक रहेको छ भने अन्य जिल्लामा यसको खेती विस्तार हुने क्रम रहेको छ । व्यावसायिकरूपमा गुलाफका ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ। यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ लिएका छन् । नेपालमा लगभग १५३ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन् । विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ ।
गुलाफबाहेक अन्य सजावट र तिहारमा प्रयोग गरिने फूल अहिले स्वदेशमै ९० प्रतिशत उत्पादन हुन थालेकाले १० प्रतिशत मात्र भारतबाट ल्याउनुपर्ने बाध्यता छ । यसअघिका वर्षमा १८ प्रतिशत फूल भारतबाट आयात गर्नुपर्ने अवस्था थियो ।