अमेरिकी कम्पनी एप्पलविरुद्ध उसमेन बाह नामक युवकले मुद्दा हालेका छन् । गलत रुपमा पक्राउ गरेको भन्दै एप्पलविरुद्ध १ अर्ब डलर क्षतिपूर्तिको माग गर्दै उसमेनले मुद्दा दायर गरेका हुन् ।
ब्लुम्बर्गका अनुसार एप्पलको फेसिएल रिकग्नीसन सफ्टवेयरको गल्तीका कारण आफुलाई एप्पल स्टोरहरुमा चोरी गर्ने व्यक्तिको रुपमा गलत रुपमा आक्षेप लगाएर गत नोभेम्बरमा पक्राउ गरिएको दाबी उनको छ ।
उनले म्यानहटनस्थित संघीय अदालतमा मुद्दा दायर गरे । एप्पलले गलत रुपमा आफ्नो पहिचानलाई चोरको अनुहारसँग जोडेको उनले आफ्नो उजुरीमा उल्लेख गरे ।
आफुलाई पक्राउ गर्ने वारेन्टमा आफूसँग नमिल्ने तस्वीर रहेको भन्दै उनले बोस्टनमा एप्पल स्टोरमा भएको एउटा चोरीमा आफुलाई चोरको आरोप लगाइएको भएपनि त्यस समयमा आफु म्यानहटनमा एउटा कार्यक्रममा रहेको बताए ।
एप्पलको लापरवाहीका कारण बाहमाथि विभिन्न प्रान्तहरुमा भएका चोरीहरुको अभियोग लागेको उनका वकिलले बताए । यसअघि उनी कुनै पनि आपराधिक कार्यमा संल्गन नभएको र कुनैपनि कानूनी कारवाही नभोगेको उनले भने । अनाहकमा पक्राउ पर्दा र चोरको आरोप लाग्दा बाहलाई ठूलो चोट परेको र यसले उनलाई त्रास, पीडा तथा अपमानको महसूस गराएको उसमेन बाहका वकिलले बताए ।
प्रहरीका अनुसार एप्पल स्टोरहरुमा चोरी गर्ने कार्यमा संलग्न चोरले बाहको एप्पल लर्नर पर्मिट आइडेन्टिफिकेसनको प्रयोग गरेको हुनसक्ने र सोही कारण भुलवस एप्पलको फेसियल रिकग्नीसन सिस्टममा उसमेन बाहको नाम जोडिएको हुनसक्ने बताएका छन् ।